काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच छलफल भएको छ। आज बिहान कोइरालाको सचिवालय विशालनगरमा कोइराला र थापाबीच पार्टी भित्रको आन्तरिक राजनीति, समसामयिक राजनीति, संसदमा कांग्रेसले जारी राखेको  अवरोधका बारेमा छलफल भएको हो।

भेटमा महामन्त्री थापाले हिजो राष्ट्रपति रामचन्द्र पौडेल र आज प्रधानमन्त्रीसँग भएको भेटघाटबारे कोइरालालाई जानकारी समेत गराएको थापाको सचिवालयले जनाएको छ।

कोइरालाले राजनैतिक स्थिरता कायम गर्न एमाले र कांग्रेस मिलेर अघि बढ्नुपर्ने तर्क गर्दै आएका छन्। संविधान संशोधनमार्फत सुशासन,विकास र समृद्धिको बाटोमा हिँडाउन दुई ठूला पार्टी मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाको भनाई छ।   कोइरालाले कांग्रेस–एमालेको गठबन्धन बनाएर पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न र दोस्रो चरणमा कांग्रेसबाट आफू प्रधानमन्त्री बन्नेगरी ओलीसमक्ष प्रस्ताव राखेका थिए। अहिलेको वर्तमान सत्ता समिकरण भत्काउन कांग्रेस नेताहरु लागि परेका छन्। यता कांग्रेस सभापति शेरबहादुर देउवा पुरानै गठबन्धन व्युउँताउनुपर्ने बताउँदै आएका छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको छ। कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री र सभामुखले प्रमुख दलसँग छलफल अगाडि बढाइरहेका छन्।

हिउँदे अधिवेशनअन्त्यतिरबाट विरोध सुरु गरेको कांग्रेसले बजेट अधिवेशनको पहिलो दिन शुक्रबार पनि अवरोध गरेको हो।  कांग्रेसले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले कार्यसूचीमा समावेश बुँदा हटाएर जेठ १ गतेसम्म संसद् बैठक स्थगित गरेका छन्।

जेठ १ गते सरकारले नीति तथा कार्यक्रम ल्याउँदैछ। सरकारले ल्याउने नीति तथा कार्यक्रम संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्। नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्न संसद् आउने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ। सोहि विषयलाई लिएर थापाले राष्ट्रपतिसमक्ष पनि छलफल गरेको बताइएको छ। कांग्रेसले आगामी संसद् बैठकमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न सोमबार संसदीय दलको बैठक समेत बोलाएको महामन्त्री थापाले जानकारी दिए।

 

Your Views
Related News