इजरेलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाउँदै हजारौँ प्यालेस्टिनीहरूलाई रफाह छोड्न आदेश दिएको छ।

हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरेलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल-मवासीतिर जान भनेको छ। अल-मवासी एउटा साँघुरो क्षेत्र हो। इजरेलले उक्त स्थानलाई “विस्तृत मानवीय क्षेत्र” भन्दै आएको छ।

रफाहमा केही दिनअघिसम्म स्थानीय बासिन्दा तथा विस्थापित मानिसहरूको घुँइचो लाग्ने गरेका सडकहरू अहिले निर्जन देखिन्छन्।

संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमा राष्ट्रले रफाहमा इजरेलले गर्न लागेको स्थल कारबाहीप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। उनीहरूले त्यहाँ हुने लडाइँले ठूलो सङ्ख्यामा सर्वसाधारण मानिस हताहत हुन सक्ने र मानवीय सङ्कट निम्तिन सक्ने चेतावनी दिँदै आएका छन्।

यद्यपि इजरेल रफाहमा स्थल कारबाही गर्न दृढ देखिन्छ।

अमेरिका के भन्छ?

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले हमासले इजरेली बन्धकहरूलाई छोडेको भोलिपल्टै युद्धविराम गर्न सम्भव हुने बताएका छन्।

“इजरेलले यो कुरा हमासमा निर्भर भएको बताएको छ – ‘उनीहरूलाई इच्छा भए हामी भोलि नै रोक्न सक्छौँ। अनि युद्धविराम भोलिपल्टै आरम्भ हुन सक्छ,” शनिवार सीयाटलमा आयोजित एउटा कार्यक्रममा बाइडनले भने।

अक्टोबर ७ मा हमासले बन्धक बनाएर लगेकामध्ये १२८ जनाको अहिलेसम्म अत्तोपत्तो नभएको इजरेलले जनाएको छ। तीमध्ये ३६ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ।

इजरेलले रफाहबाट प्यालेस्टिनीहरूलाई ठाउँ छाड्न आदेश दिनुभन्दा केही घण्टाअघि अमेरिकाको विदेश मन्त्रालयले इजरेलले गाजा युद्धमा अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्दै आफूले उपलब्ध गराएका हतियारहरू प्रयोग गरेको हुन सक्ने जनाएको थियो।

अमेरिकी विदेश मन्त्रालयको प्रतिवेदनमा ती हतियारहरू इजरेलले आफ्नो दायित्वसँग “असङ्गत” हुने गरी प्रयोग गरे नगरेको “परीक्षण गर्नु उचित” हुने उल्लेख छ।

इजरेली सेना के भन्छ?

शनिवार रफाहको आकाशमा धुवाँको मुस्लो उडेको तस्बिरहरूमा देखिन्छ। समाचारसंस्था एएफपीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै इजिप्टसँगको सीमानजिकै हवाई आक्रमण भएको जनाएको छ।

इजरेली डिफेन्स फोर्सेस (आईडीएफ) ले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै अघिल्लो दिन इजरेली सैनिकहरूले रफाहमा हमाससँग “आमुन्नेसामुन्ने” भएर लडाइँ गरेको जानकारी दिएको छ।

आफ्ना सैनिकहरूले रफाहमा हमासका केही भूमिगत सुरुङ फेला पारेको आईडीएफको दाबी छ।

इजरेलले गाजा स्ट्रिपका विभिन्न स्थानमा हवाई आक्रमण पनि गरेको छ। इजरेली सेनाले “आतङ्ककारी र तिनका भौतिक संरचना”लाई निसाना बनाइएको दाबी गरेको छ।

आईडीएफले गाजा स्ट्रिपको सुदूरउत्तरमा अवस्थित जबालिया क्षेत्रमा हमाससँग सम्बन्धित संरचनालाई लक्ष्य बनाइएको शनिवार राति जनाएको थियो।

त्यसअघि आईडीएफले त्यहाँका बासिन्दालाई “पश्चिमी गाजा सिटीका आश्रयस्थलहरूमा अस्थायी रूपमा” जान आदेश दिएको थियो।

 

Your Views
Related News