काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालले त्रीपक्षीय र द्विपक्षीय छलफल गरेका हुन्।

संसदको गतिरोध हटाउने विषयमा उनीहरूबीच छलफल भएको हो। सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीसमेत रहेका लामिछानेको संलग्नता रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसद अवरुद्ध पार्दै आएको छ। भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ। तर, कांग्रेस पदाधिकरी बैठकले नीति तथा कार्यक्रममा पनि अवरोध गर्ने संकेत गरेको छ।

प्रधानमन्त्रीले वैकल्पिक बाटोबाट समस्याको समाधान गर्ने विषयमा ओली र रविसँग छलफल गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। आइतबार पनि प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवाबीचमा मध्यमार्गी बाटोबाट समस्या समाधान गर्ने विषयमा छलफल गरेको थियो। कांग्रेस सभापति देउवा प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको दाबी बालुवाटारको थियो। सोही विषयमा प्रधानमन्त्रीले ओली र रविसँग छलफल गरेको स्रोतको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने बैठकमा आफूले संसदमा बोल्न पाउनुपर्ने माग राखेको बताए। ‘कम्तीमा एकपटक त मैले बोल्न पाउनुपर्छ। कांग्रेसले लगाएको संगीन आरोपबारे मैले जवाफ दिन पाउनुपर्छ। विकल्प त धेरै हुनसक्छन्,’ सञ्चारकर्मीसँग उनले भने। सभापति लामिछानेले आफ्नो कुरा राखेर आफू छलफलबाट बाहिरिएको बताए। कांग्रेसले हात-मुख बाँधेर डरायो भन्ने आरोप लगाइरहेको लामिछानेको भनाइ छ।

यसैबीच सभामुख देवराज घिमिरेले पनि सभापति देउवा र लामिछानेसँग छलफल गरी भोलिको बैठकअघि नै विवाद टुंग्याउन आग्रह गरेका थिए। देउवाले सरकारले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गरेको बताएका थिए।

 

Your Views
Related News