काठमाडौँ — अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन् । मेसीले मंगलबार पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका हुन् । ३४ वर्षीय मेसीका लागि तेस्रो वर्षका लागि पनि मौका दिइने बताइएको छ ।

लियोनल मेसीले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ३० नम्बरको जर्सी लगाउने छन् । पीएसजीमा अनुबन्धित भएपछि यी अर्जेन्टिनी खेलाडीले यही नम्बरको जर्सी रोजे । मेसीले फ्रान्सेली क्लबसँग दुई वर्षको अनुबन्ध गरेका छन् । त्यसमा एक वर्ष थप गर्न सकिनेछ

बार्सिलोना छँदा मेसीले एक दशक जति समय १० नम्बरको जर्सी लगाए । पीएसजी आउने निश्चित भएपछि उनका ब्राजिली साथी खेलाडी नेयमारले उनलाई १० नम्बरको जर्सी दिने प्रस्ताव पनि राखेका थिए । तर ३४ वर्षीय मेसीले त्यसलाई स्वीकारेनन् । त्यसको स्थानमा उनले ३० नम्बर जर्सी नै रोजे । यो त्यही नम्बरको जर्सी हो, जुन मेसीले बार्सिलोनाबाट पहिलो खेल्दा लगाएका थिए ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेलमा ६७२ गोल गरेका छन् । त्यस्तै उनले ६ पटक बलोन डी ओर अवार्ड पाएका छन् भने क्याटलान क्लबलाई ३५ वटा उपाधि दिलाएका छन् । यो सिजनमा पीएसजीमा आबद्ध हुने चौथो खेलाडी हुन् । यसअघि पीएसजीले नेदरल्यान्ड्सका मिडफिल्डर जर्जिनियो विज्नाल्डम, स्पेनका डिफेन्डर सर्जियो रामोस र इटालीका गोलरक्षक जियानलुइगी डोनारुमालाई भित्र्याइसकेको छ ।

 

Your Views
Related News