चितवन : कैलाशनगरका रामप्रसाद पौडेल बिहान २ बजे उठेr तयार भएर साढे २ बजे साइकलका पाइडल चलाउन थाले। उनले पुग्नु थियो, करिब आधा घण्टा टाढा गीतानगर।

त्यहाँ बुधबार बिहान मल बेचिन्छ भन्ने चितवनका निकै परपरैसम्म हल्ला फैलाइएको थियो। त्यही सुनेर उनलाई पनि बेलैमा निद्राले छाडेको थियो। नछाडोस् पनि कसरी ? त्यस्ता धेरै ठाउँ गइसकेका उनले कतै मल पाएन सकेको होइन। सकेसम्म अगाडि लाम लाग्न हतारिएका उनी पुग्दा ३ बजेको थियो। अगाडि धेरै लाममा बसिसकेका थिए। भीडमा अघिल्तिर मध्यरातिदेखि बसेकासमेत रहेछन।

उज्यालो भएपछि छोरासँग अर्को साइकलमा आइपुगिन् श्रीमती दुर्गादेवी। गीतानगरको सर्वोदय सहकारीमा लाम लागेका उनीहरूले साढे १० बजेतिर धन्न १०–१० किलो मल पाए लगत्तै घोषणा आयो, ‘मल सकियो।’ बुधबार जम्मा १ सय २० बोरा युरिया दुईयो। एक बोरोमा ५० किलो हुन्छ। एक बोरा दिँदै ५ भाग लगाउन।

बालीको हरियाली कल्पना गरेर घण्टौं उभिएका बाँकी ४ सय किसान रित्तो हात घर फर्किन बाध्य भएकाथीए। ‘रातभर लाइनमा बस्दा पनि मल पाइएन। अन्त पाइन्छ कि भनेर धेरैतिर चाहारियो तर रित्तो हात फर्कनु पर्‍यो’, गीतानगरका ७० वर्षीय कुस्माखर घिमिरेले भने, ‘यो देशमा मर्कामा पर्ने हामी किसान नै रहेछौं।’चर्को

घाममा घण्टौं लाइन बस्दा पनि मल नपाएपछि उनको आक्रोशले सीमा नाघ्ने नै भयो। ‘कृषिप्रधान देश रे ! हामी किसानले भनेको बेलामा मलसम्म पाउँदैनौं। बूढो मान्छे, घण्टौं भइसक्यो लाइन बसेको। अहिले आएर मल सकियो भन्छन्। अब हामीले कसलाई गुहार्ने हो ? ’ उनी ठूलो स्वरमा कराइरहेका थिए।

कुस्माखरले करिब डेढ बिघा जग्गामा धानखेती गरेका छन्। रोपेदेखि अहिलेसम्म मल हाल्न पाएनन। सहकारीले मल बाँड्ने खबर पाएपछि उनी पनि टण्टलापुर घाममा लाइन बस्न पुगे। उनी पनि रित्तै फर्किए। मल नपाएका किसान आक्रोशित बनेपछि प्रहरीले बल प्रयोग गरेर तितरबितर पार्नु परेको थियो। धानखेती गर्ने अधिकांश किसान अहिले मलको खोजीमा छन्। खेतमा धानको बाला फलाउने सपना बोकेका उनीहरू हैरानी बेहोर्न बाध्य हुन्।

पूर्वी चितवनको रत्ननगर–१३ का बालकृष्ण दुवाडी मल खोज्न दिनहुँ नजिकको सहकारी पुगेर फर्कन्छन्। ‘आज आउँछ, भोलि आउँछ भन्छन् तर हामीले अहिलेसम्म मल पाउन सकेका छैनौं। सारै अभाव भयो’, उनले भने, ‘मलका लागि हामीले सरकारलाई गुहारेको निकै भयो। सरकारसम्म हाम्रो आवाज अझै पुगेको छैन।’

पछिल्लो समय चितवनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढिरहेको छ। त्यसको पर्वाह नगरी किसान मलको रनाहामा भौतारिइरहेका हुन्। निषेधाज्ञा अवज्ञा गर्दै निस्कन्छन्। जोखिम मोलेर भीडमा लाम लाग्छन्। र, अन्त्यमा रित्तै फर्कनुपर्छ।

धान रोपाइँ सुरु गर्नुअघि पनि युरिया खोजेका किसानले धानकोे गाँज हाल्ने समयमा पनि मल पाउन सकेका छैन। सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा धानबाली बिग्रने खतरा बढेको हो। जिल्लामा करिब ८ सय ५० मेट्रिक टन मल आवश्यक पर्छ। तर, बुधबारसम्म १ सय ४५ मेट्रिक टन मात्र उपलब्ध भएको जानकारी साल्ट ट्रेडिङ कर्पोरेसन चितवनका प्रमुख बुद्धिविनोद दाहालले दिनुभयो ।‘मलको माग धेरै छ। त्यसको तुलनामा आयात निकै कम छ। हामीसँग उपलब्ध मललाई सहकारीमार्फत वितरणको व्यवस्था मिलाएका छौं’, उनले भने, ‘अन्य विकल्प नभएपछि हामी किसानलाई जति पाउनुहुन्छ त्यसैमा चित्त बुझाउनुस् भन्न बाध्य छौं।’ चितवनमा करिब २७ हजार ४ सय ४५ हेक्टरमा धान खेती हुँदै आएको छ। अहिले जिल्लाभर जम्मा दुई हजार एक सय क्विन्टल मात्र मल आएको छ।

 

Your Views
Related News