काठमाडौँ — चिनियाँ चन्द्रयान चाङ ई–५ चन्द्रमाको सतहबाट ढुंगामाटोको नमुना लिएर पृथ्वीमा फर्किएको छ । अमेरिकाको अपोलो र तत्कालीन सोभियत संघको लूना चन्द्रयानपछि पहिलोपल्ट चिनियाँ चन्द्रयानले चन्द्रमाको सतहको नमुना लिएर फर्किएको हो ।

नमुनाको अध्ययनबाट पृथ्वीको उपग्रहको सतह र उसको अतीतका बारेमा विभिन्न जानकारी हासिल हुने वैज्ञानिकहरुको दाबी छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान एक बजेर ५९ मिनेट जाँदा इनर मंगोलिया स्वायत्त क्षेत्रको सिचिवाङमा चाङ ई–५ को सुरक्षित अवतरण गराइएको थियो । अन्तरिक्षमा लगातार आफ्नो क्षमता वृद्धि गरिरहेको चीनको यो मिसनलाई महत्वपूर्ण उपलब्धिका रुपमा हेरिएको छ । पछिल्ला सात वर्षमा चीनको तीन वटा चन्द्र मिसन सफल भएका छन् ।

गत नोभेम्बरको अन्त्यमा चीनले चाङ ई–५ चन्द्रयान चन्द्रमामा पठाएको थियो । उक्त यानले चन्द्रमाबाट कति नमुना संकलन गरेर ल्यायो भन्ने यकिन नखुलाइए पनि २ देखि ४ किलोसम्म हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । अपालो र लुना चन्द्रयानले चन्द्रमाको सतहको करिब ४ सय किलो नमुना संकलन गरेका थिए । चन्द्रमाबाट ल्याइएका नमुना धेरै पुराना भएको बताइएको छ । यी नमुना करिब तीन अर्ब वर्ष पुरानो हुन सक्ने वैज्ञानिकहरु बताउँछन् । चिनियाँ चन्द्रयानले ल्याएको नमुना भने यसअघिका भन्दा केही फरक हुन सक्ने बताइएको छ ।

 

Your Views
Related News