काठमाडौँ — अमेरिकाले वीर र परोपकार प्रसूति अस्पताललाई मंगलबार तरल अक्सिजन ट्यांक सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि थप सहयोग दिने क्रममा अमेरिकाले दुई अस्पताललाई दुई वटा तरल अक्सिजन ट्यांक सहयोग गरेको हो ।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्साडले काठमाडौंस्थित दुवै अस्पताललाई सहयोग हस्तान्तरण गरे ।

‘यी तरल अक्सिजन प्रणाली अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन् र यिनले अक्सिजनको नियमित आपूर्ति गर्ने वा एक घण्टामा ४० लिटर क्षमताका लगभग ४० वटा सिलिन्डर भर्नेछन्,’ अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यूएसएआईडीको सहयोगमा थप चार वटा तरल अक्सिजन ट्यांकहरू पनि जडान हुँदै छन् ।’

अमेरिकाले मंगलबारै नेपाललाई यूएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलर बराबरको राहत सहायता प्रदान गर्ने घोषणा पनि गरेको छ ।

अमेरिकी दूतावासका अनुसार उक्त थप रकम सहायताले पालिकामा निगरानी तथा कन्ट्याक्ट ट्रेसिङ सुदृढ गर्ने, प्रयोगशाला प्रणालीहरूलाई टेवा पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्नेछ ।

 

 

Your Views
Related News